एसईई परीक्षा सुरु, ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी

२०७५ चैत्र १० गते, आईतवार

काठमाडौं, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) आजदेखि सुरु भएकाे छ । बिहान ८ बजेबाट सुरु हुने परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी छन् । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुँदै छ ।आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् ।परीक्षामा सबैभन्दा बढी प्रदेश नं. ३ बाट १ लाख ६ सय २ र सवैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश नं. १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं. २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं. ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुँदै छन् ।
परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सह–केन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिँदै छ । मुलुक संघीयतामा गएपछि पहिलोपटक एसईई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गरेको हो ।
यो वर्ष प्रदेशअनुसार नै प्रश्नपत्र छपाई गरिएको छ । परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने छ । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको बताइएको छ । परीक्षामा साधारणतर्फको अनिवार्य ६ वटा विषयका फरक–फरक प्रश्नपत्र बनाइएको छ भने प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु