छालाको स्याहार गर्ने भए. . .
काठमाडौँ, २३ चैत । विशेष गरी गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउँछ । पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ । जसका कारण घमौरा आउने, फंगल इन्फेक्सन हुने (छालामा घाउ हुने), दाद, दुबी आउने, छाला बाक्लो हुने र चिलाउने लगायतका रोगहरू लाग्छन् । शरीरमा सीधै सूर्यको प्रकाश परेमा छाला उमेरभन्दा पहिल्यै चाउरी पर्छ ।
गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ । यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन् । यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन् ।
गर्मी मौसममै ठेउला तथा दादुरा आएमा पनि छालामा बिबिरा तथा फोका देखिन्छन् । खेतबारीमा काम गर्ने किसानलार्ई पनि विभिन्न भुसुना तथा किराले टोकेर छालामा संक्रमण हुन्छ । छालाका लागि संवेदनशील मौसम भएकाले कुनै पनि संक्रमण हुन सक्छ ।
शरीर स्वस्थ भए मात्र छाला पनि स्वस्थ हुने भएकाले यो मौसममा नियमिति व्यायाम र स्वस्थ भोजन गर्नुपर्ने महाराजगन्जस्थित टिचिङ हस्पिटलका छालारोग विशेषज्ञ डा. अनिलकुमार दासले बताए ।
कुनै कारणले छालामा घाउ भइहालेमा चिकित्सकको सुझावमा मात्र औषधि प्रयोग गर्न सकिने उनले बताए । प्राकृतिक र कृत्रिम दुई विधि अपनाएर छालाको हेरचाह गर्न सकिन्छ ।
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?
१. खेतबारीमा जानु अघि पूरा लुगा लगाउने
२. बाहिर निस्कँदा छाता ओढ्ने या क्याप लगाउने
३. कामबाट फर्केपछि राम्रोसँग शरीर सफा गरी ओभानो राख्ने
४. आफ्नो छालाअनुसार सनब्लक क्रिम मात्र प्रयोग गर्ने
५. सकेसम्म छहारीमा बस्ने, भित्र काम गर्ने
६. अनावश्यक रूपमा बाहिर घाममा नजाने
७. नियमित व्यायाम गर्ने
८. प्रशस्त पानी पिउने
९. सन्तुलित भोजन गर्ने
लामो समय छालाको स्याहार कसरी गर्ने ?
लामो समय छालाको स्वास्थ्य राम्रो बनाउँनका लागि बेला बेला छालालार्ई विशेष हेरचाह गर्ने गर्नु पर्छ । यसका लागि तल बमोजिमका कामहरु गर्न सक्नु हुनेछ ।
१. चन्दन
चन्दनले छालामा जम्मा भएका विषाक्त पदार्थलार्ई हटाउछ र छालालार्ई सफा, चम्किलो राख्छ । चन्दनलार्ई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलार्ई आराम मिल्छ ।
२. गुलाब
गुलाबमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । त्यसैले सुत्नुअघि अनुहारमा गुलाबजल दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।
३. घ्यूकुमारी
घ्यूकुमारी छालामा लगाउनाले छाला तलको रगत शुद्ध हुनुका साथै डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या कम हुन्छ । घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग पनि बिस्तारै हराउँदै जान्छ ।
४. नीम
छालामा रहेका टक्सिनलार्ई नीमले हटाउछ साथै डन्डीफोरलार्ई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।
५. बेसार
सुन्दर बन्न छालामा बेसार दल्ने चलन छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा लगाउनाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।
छालाका लागि पानीको आवश्यकता ः
पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरका कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ ।
पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ । पानीले छालालार्ई चम्किलो राख्न मद्दत गर्छ । यसले अनुहारको चमक बढाउँछ । पानीको कमीले छाला ड्राई हुन्छ । त्यसैले सुक्खापन र चाउरीपनबाट बच्न पानीको प्रयोग गर्नुपर्छ ।
पानीको कमीले छाला चिलाउने, रातो हुने, एलर्जीलगायतका समस्या आउँछ । यसका साथै बाहिरको धुवाँ, धुलोले छालासम्बन्धी अन्य रोग पनि निम्तिन सक्छ । यस्तो समस्याबाट बच्न पनि प्रशस्त पानी पिउनुपर्छ ।
सुक्खा मौसममा बढी हावा चल्नुका साथै अत्यधिक धुवाँ–धुलो हुन्छ । जसले छालाको एलर्जी र डन्डिफोरको समस्या हुन्छ । प्रशस्त पानी पिउँदा यस्तो समस्याबाट पनि बच्न सकिन्छ । पानीको कमीले कम उमेरमै बूढो देखाउँछ । त्यसैले, खाली पेटमा पानी पिउने बानीले छालासमेत सफा हुन्छ । जब शरीरमा अधिक विषाक्त पदार्थ हुन्छ तब छालामा विभिन्न खालका दाग र धब्बा देखिन थाल्छन् । त्यसैले पानी पिउँदा शरीरमा भएको विषाक्त पदार्थ राम्रोसँग शरीरबाट बाहिर निस्कन्छ । जसले गर्दा अनुहारमा धब्बा देखिने, आँखाको वरिपरि चाउरी पर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
तपाईंं डाइटिङ गरिरहनुभएको छ भने खाली पेट पानी पिउन जरुरी छ । खाली पेटमा पानी पिउँदा २४ प्रतिशतले मेटाबोलिक रेट बढेर जान्छ । यसरी पिएको पानीले खानालार्ई राम्रोसँग पचाउन मद्दत गर्छ । जसले बिस्तारै तौल घटाउन पनि भूमिका खेल्छ । पानीमा क्यालोरी नहुने भएकाले यसले स्वास्थ्यमा कुनै असर पु¥याउँदैन । प्रत्येक दिन चारदेखि पाँच लिटर पानी पिउनुलार्ई स्वस्थकर मानिन्छ ।