त्रिवि कर्मचारी संघ आन्दोलनमा
काठमाडौं, ३० मंसिर । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयअन्र्तगत् रहेका शैक्षिक संस्थाहरुमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै आन्दोलन थालेको छ । कर्मचारी संघले सहयोगी र चालकहरुलाई त्रिवि सेवा आयोगले विज्ञापन खुलाइ स्थायी गर्नुपर्ने माघ अघि सारेको छ । आन्दोलनस्वरुप कर्मचारीले सोमबार दुई घन्टा काम गरेनन् । उनीहरुले आउँदो बिहीबारसम्म दिनको दुई घन्टा काम छाडेर विरोध गर्ने जनाएका छन् । संघले २०६९ सालभन्दाअघिबाट सेवा प्रवेश गरेका कर्मचारीलाई विज्ञापन खुलाएर स्थायी गराउनुपर्ने माग राखेको छ ।
सरकारले २०६९ सालदेखि ठेक्का र करारमा मात्र कार्यालय सहयोगी र सवारीचालक राख्ने नियम बनाएको थियो । तर, २०६९ अघिदेखि कार्यरत् कर्मचारीलाई त्रिविले बेवास्ता गरी विज्ञापनसमेत नखुलाएका कारण आफूहरुले विरोध गरेको त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । त्रिवि सेवा आयोगले २०६९ सालपछि विज्ञापन खुलाएर ४५ जना कर्मचारीलाई स्थायी गरेको थियो । हाल त्रिविअन्तर्गत्का क्याम्पसहरुमा करिब १५० जना कार्यालय सहयोगी र चालकहरु रहेका छन् ।