कोरोना संक्रमणकाे जाेखिम कम गर्न समिति गठन

२०७६ फाल्गुन १८ गते, आईतवार

काठमाडाैँ, १८ फागुन । सरकारले कोरोना संक्रमणकाे जाेखिम कम गर्न समिति गठन गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई काेराेना संक्रमणकाे उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएक थिए । बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ ।
गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्रीसमेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ । बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट हुने उडान तथा आजतजावत रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै काेराेनाकाे जाेखिम र गतिविधबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ । प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्देशन दिएको बताइएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित एक जना नेपालमा पनि भेटिएका थिए । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् । वुहानबाटै उद्धार गरी ल्याइएका दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट संक्रमण नभएको आएको छ । तर पनि नेपालमा यसकाे जाेखिम भने कायमै रहेकाले उच्च सतर्कता अपनाउने निर्णयमा सरकार पुगेकाे हाे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु