कोरोना मानिसबाट जनावरमा सर्यो
काठमाडौं, २४ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारीको सामना गरिरहेको समयमा अर्को खराब खबर आइपुगेको छ । मानिसबाट मानिसमा सरिरहेको भाइरस अब मानिसबाट जनावरमा पनि संक्रमण भएको हो । अमेरिकाको न्यूयोर्कमा मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक एउटा बाघ विरामी परेको खबर छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार एउटा बाघलाई कोभिड–१९ भएको जानकारी दिएका हुन् । सो चिडियाखानामा रहेको चार वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । नादियासहित चिडियाखानाका अरु तीन बाघ र तीन सिंहमा सुख्खा खोकी लागिरहेपछि सबैभन्दा बढी बिरामी नादियाको कोरोनाको परीक्षण गर्दा संक्रमण देखिएको हो । कोभिड–१९ भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आएकोमा यसअघि हंगकंगका केही जनावरको परीक्षण गर्दा पनि ‘पोजेटिभ’ देखिएको थियो ।
चिडियाखानाका कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता लागेको छैन । मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो चिडियाखानाका अधिकारीले बताए । मार्च २७ बाट विरामीको लक्षण देखाएपछि नादिया बाघको कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको छ ।- एजेन्सी