कोरोना भाइरसको र्‍यापिड टेष्टका लागि नमूना संकलन

२०७६ चैत्र २६ गते, बुधबार

काठमाडौं , २६ चैत । कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्‍यापिड टेष्टका लागि नमूना संकलन गरिएको छ । काठमाडौँबाट पुगेका तालिम प्राप्त प्राविधिक टोलीले कैलालीको गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाका क्वारेन्टाइनबाट नमूना संकलन गरेको हो ।
कैलालीको गोदावरी र कञ्चनपुरमा खटाइएका प्राविधिक टोलीले ९६ जनाको थ्रोट स्वावको नमूना संकलन गरेको छ भने कैलालीको पूर्वी क्षेत्रमा खटिएको प्राविधिक टोलीले ९९ जनाको नमूना संकलन गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।नमूना संकलन गरेपछि ६६ जनाको नमूना परीक्षणका लागि हिजो सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाएको उनले बताए । बाँकी नमूना आज पठाउने तयारी रहेको बताइएको छ ।
र्‍यापिड टेष्टको विश्वसनीयता परीक्षण गर्ने उद्देश्यले मंगलबारदेखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका दुई सय जनाको रगत तथा थ्रोट स्वाब संकलन गरी किटको विश्वसियनता मापन गरिने छ । यस्तै अछामबाट ५१ जनाको कोरोना भाइरस परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु