३ हजार ५२५ को कोरोना परीक्षण, ९ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ

२०७६ चैत्र २९ गते, शनिबार

काठमाडौँ, २९ चैत । हालसम्म नेपालभरि कुल ३ हजार ५२५ जनाको कोरोना परिक्षण गरिएको छ । तीमध्ये हालसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो एक सातामा परीक्षण गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिलेसम्म परीक्षण गरिएका कुल संख्यामा ३ हजार ५१६ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा मात्र ६३० जनामा परीक्षण गरिएको र सबैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे मन्त्रालयकाे दाबी छ । यसैगरी ८ सयभन्दा बढी नमूनाहरू परीक्षणको क्रममा रहेकाे छ । मन्त्रालयका अनुसार हाल कोरोना अाशंका गरिएका १२५ जनालाई आइसोलेसनमा राखिएको छ । हाल नेपालभरि ८ हजार ६६० जना क्वारेन्टाइनमा रहेकाे मन्त्रालयले जनाएकाे छ छ । कोरोना संक्रमित ९ मध्ये ८ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ । १ जना भने दुई महिना अगाडि नै निको भइसकेका थिए ।
नेपालमा केही दिनअघिसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण हुँदै आएको थियो । तर सरकारले पछिल्लो समय परीक्षण उपकरण भित्र्याएर प्रादेशिक स्तरमा समेत परीक्षको व्यवस्था मिलाएको छ ।
काेराेना परीक्षणका लागि हाल संघ सरकारले प्रत्येक प्रदेशमा ५-५ हजार द्रूत परीक्षण किट पठाइसकेकाे छ । यससँगै काेराेना संक्रमित देखिएका बाग्लुङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा व्यापकर द्रूत परीक्षण गरिँदै छ ।
हाल काठमाडौँबाहिर राष्ट्रिय चरा रोग अनुसन्धान प्रयोगशाला, भरतपुर, चितवन, जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा, धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेपलान्चोक, सेती अञ्चल अस्पताल, धनगढी, कैलाली, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की , भेक्टर बोर्न’ रोग अनुसन्धान र प्रशिक्षण केन्द्र, हेटौडा, मकवानपुर, राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र, ओमसाटिया, रूपन्देही, बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरान, सुनसरी , मध्य पश्चिम क्षेत्रीय अस्पताल, वीरेन्द्रनगर, सुर्खेतवाट कोरोना भाइरस परीक्षण भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु