अस्पतालको आइसोलेसनबाट दुईजना भागे !
काठमाडौं, ३० चैत । डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरसको आशंकामा भर्ना गरिएका दुईजना अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताएका छन । ‘तीन दिन अघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँकोहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएका थियो। उनले भने, ‘दिउँसोसम्म यतै हुनुहुन्थ्यो। पछि हेर्दा अस्पतालमा भेटिएनन्।’ निमित्त मेसु विष्टका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। ‘उनीहरूको खोजी कार्य तीव्र पारेका छौँ। मोबाइल पनि अफ गरेका छन् उनीहरूले।’ अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि आएका छैनन् रे। हामी खोज्दैछौँ।’ उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
यसैबीच, वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो । त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । वीरगन्जको छपकैयास्थित जामे मस्जितमा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए ।