अखिल क्रान्तिकारीद्वारा अलपत्र परेका विद्यार्थीलाई उद्धार र अनलाइन कक्षा सञ्चालन गर्न माग
काठमाडौं, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेकाले उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने सामान नभएपछि हिँडेरै घर जान बाध्य भएको बताउँदै अखिल क्रान्तिकारीले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन पनि माग गरेको छ । अखिल (क्रान्तिकारी) का उपत्यका विशेष क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकले शनिबार विज्ञप्ति जारी गरी अनिश्चितकालीन लकडाउनका कारण एसईई, कक्षा ११ र १२ का विद्यार्थीहरूमा ठूलो अन्योल उत्पन्न भएको बताउँदै अनलाइन कक्षा सञ्चलान गर्न माग गरेका छन् ।
“अनिश्चितकालीन लकडाउनका कारण विशेषगरी एसईई, कक्षा ११ र १२ का विद्यार्थीहरूमा ठूलो अन्योल उत्पन्न भएको छ । ती विद्यार्थीहरूका लागि अनलाइन कक्षा सञ्चालन गरिनुपर्दछ । साथै विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीहरूका लागिसमेत अनलाइन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षको जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी संयोजक विकले सरकारले घोषणा गरेको राहत प्याकेज अपर्याप्त भएको र वास्तविक पीडितसम्म नपुगेकै कारण रातारात विद्यार्थी र मजदुर गाउँतिर हिँड्न बाध्य भएको बताएका छन् । उनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउनसमेत माग गरेका छन् । “जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू, न्यून तलबमा रोजगारी गर्ने श्रमिकहरू र डेरावाल विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेका छन् । सरकारद्वारा घोषित राहत प्याकेज अपर्याप्त त छ नै, त्यो पनि वास्तविक पीडितसम्म पुगेको छैन । तसर्थ वास्तविक पीडितलाई, मारमा परेकाहरूलाई यथाशक्य छिटो राहत उपलब्ध गर्न–गराउन सरकारसँग जोडदार माग गर्दछौँ । साथै कोठामा खाने जोहो नभएपछि साता दिनसम्म भोकभाकै राजधानीबाट हिँडेर विद्यार्थी र मजदुरहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनसमेत माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँमा समस्या परेका विद्यार्थीहरूलाई सहयोग गर्न सङ्गठनले तीनवटै जिल्लामा कार्यकर्ता परिचालन गरिसकेको समेत बताएका छन् ।
विकले सङ्कटको बेला पनि ओम्नी समूहसँग मिलेर स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्न खोज्ने मन्त्री र कर्मचारीमाथि अनुसन्धान गरी कारबाही गर्न अख्यितार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।
कोरोना भाइरसको वैज्ञानिक समाधान नभएसम्म उच्च संयम र सतर्कता अपनाउनु एक मात्र विकल्प भएको बताउँदै उनले धैर्यपूर्वक लकडाउनको पालना गर्न सबैलाई अपिल गरेका छन् । त्यसैगरी विदेशी भूमिबाट फर्किन खोज्नेलाई फिर्ता ल्याई क्वारेन्टाइनमा राख्न, नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार गरी व्यवस्थापन गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।