होम आइसोलेसनको लागि मापदण्ड निर्धारण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । मन्त्रालयले होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलयुक्त र पोसिलो खानेकुरा खानुपर्ने यस्तै, आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने लगायतका नियम पालना गर्नुपर्ने जनाएको छ ।
यस्तै सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । संक्रमितको हेरचाहमा गर्नेले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने छ । दिर्घ रोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई टाढा राख्नुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने छ । सङ्क्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।