आज काठमाडौं उपत्यकामा २१६सहित ६३४ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र ६ गते, शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा काठमाडौं उपत्यकामा २१६सहित ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका छन् भने सुनसरीमा ३१, मोरङमा ५२, झापामा १७, पर्सामा ६९ र सिरहामा ३५ संक्रमित थपिएका छन् । कास्कीमा १६, बाँकेमा २८, रुपन्देहीमा २३ र कैलालीमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय २६ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण जितेर घर र्फकनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।
अहिले देशभर १२ हजार ६ सय २१ जना संक्रमित आइसोलेसनमा रहेका छन् । तिमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसन र ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् । संक्रमितमध्ये १२ जना सघन उपचार कक्षमा रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डौमा सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा बढी छ । म्याग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय संक्रमितको संख्या सुन्यमा छ ।
देशभरि क्वारन्टीनमा ११ हजार ६ सय ५८ जना छन् । कोरोना भाइरस संक्रमण पत्ता लगाउनका लागि हालसम्म पाँच लाख ९२ हजार ४ सय १८ पीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा छ वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरूष छन् । त्यस्तै सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूषको पनि कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु