त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि

२०७७ भाद्र १३ गते, शनिबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैंले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डीन कार्यालयलाई दिएको छ ।
यसअघि, बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी-साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो । ‘अहिलेको स्थितिमा दसैंअगाडि कुनैपनि परीक्षा गर्न सहज छैन’-उहाँले भन्नुभयो-‘अब वार्षिकअन्तर्गतका सबै परीक्षा दसैंपछि नै हुन्छन् ।’ उहाँले मंसिर १५ वा २० गतेदेखि परीक्षा गर्नेगरी तयारी गरिने बताउनुभयो ।
पनिकाले मंसिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिनुभयो । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।
धेरै विद्यार्थी भएको तहमा ‘भर्चुअल’ परीक्षा असम्भव
परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाकासहितको प्रतिवेदन सम्बन्धित डीन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताउनुभयो । ‘सेमेष्टर परीक्षाकाबारेमा ‘भर्चुअल’ माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ’-उहाँले भन्नुभयो-‘तर, कति सम्भव हुन्छ डीन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’ उहाँले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताउनुभयो । -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु