चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा परीक्षा शुल्क बढी नउठाउन चेतावनी

२०७७ आश्विन १५ गते, बिहीबार


काडमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल माफियाहरूलाई परीक्षा शुल्क बढी नउठाउन र सङ्घर्षका क्रममा विद्यार्थीले दिन नपाएका परीक्षालाई नियमित परीक्षाका रूपमा निरन्तरता दिन सुझावसहित चेतावनी दिएको छ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले प्रेस विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी र काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट जारी गरेको विज्ञप्तिमा मेडिकल माफियाहरूले कुनै न कुनै रूपमा विद्यार्थी र अभिभावकलाई ठग्ने र लुट्ने गर्दै आएकाले विद्यार्थी र अभिभावकलाई लुटिरहने लुटेरा मानसिकता त्यागेर सही नीति कार्यान्वयन गरी सम्बन्धित दुर्घटनाबाट जोगिन पनि आह्वान गरेका छन् ।
संयोजक चन्द र प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा सङ्घर्ष समितिको अगुवाइमा चिकित्सा शिक्षाका विद्यार्थीले विभिन्न समयमा सङ्घर्षहरू गरिरहेका छन् । भर्नाशुल्कलाई आधार बनाई गरिएको लामो सङ्घर्षपछि केही हदसम्म विद्यार्थी र अभिभावकले आराम पाएका छन् तर मेडिकल माफियाहरू कुनै न कुनै रूपमा विद्यार्थी र अभिभावकलाई ठग्न र लुट्ने आइरहेका छन् । यसकै सिलसिलामा फेरि पनि विद्यार्थीबाट परीक्षा शुल्क मनोमानी ढङ्गले असुल गरिरहेका छन् । सम्बन्धित मेडिकल कलेजका प्रशासकले नै आईओएमले नै लिन भनेको छ भनी विद्यार्थी र अभिभावकलाई ढाँट्ने अनि अतिरिक्त परीक्षा शुल्क नदिएमा विभिन्न धाकधम्की र दबाब दिई शुल्क असुल गर्ने गरेको विषयप्रति सङ्घर्ष समितिको ध्यानाकर्षण भएको छ ।’


विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सङ्घर्ष समितिका जिम्मेवार साथीहरूले अतिरिक्त परीक्षा शुल्क असुल नगरी आईओएमले तोकेकै परीक्षा शुल्क रु. २,५००।– मात्र भुक्तानी गरी विद्यार्थीलाई परीक्षा फाराम झर्न सहज गरिदिन अनुरोध गर्दा सम्बन्धित मेडिकल कलेजका प्रशासकले अटेरी गरी विद्यार्थीलाई दुःख दिइरहेको विषयमा सङ्घर्ष समिति त्यस्तो नगर्न चेतावनी दिन्छ र यस्तो घृणित कार्य नगर्न साथै सङ्घर्ष समितिको चेतावनी र विद्यार्थीको भविष्यप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउँछ । विद्यार्थी र अभिभावकलाई लुटिरहने लुटेरा मानसिकता त्यागी सही नीति कार्यान्वयन गरी सम्बन्धित दुर्घटनाबाट जोगिन पनि सुझाव दिन चाहन्छौँ ।’
चन्द र भट्टले विज्ञप्तिमा भनेका छन्, ‘सङ्घर्षका क्रममा विद्यार्थीले दिन नपाएका परीक्षाका हकमा सम्बन्धित परीक्षाबारे आईओएमलाई विद्यार्थीको परीक्षाको सवालमा गम्भीर बनी हालै हुन गइरहेका परीक्षा पूरक र पुनः नियमित नभई नियमित नै भएको हुँदा उक्त सूचना र निर्णयलाई सच्याई विद्यार्थीले दिन पाउने सबै परीक्षालाई सामान्य ढङ्गबाट निरन्तरता दिन अनुरोध गरिन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]