अखिल क्रान्तिकारीद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष

२०७७ पुष १२ गते, आईतवार


काठमाण्डौ । अखिल क्रान्तिकारीले गिरफतार गरिएका सम्पूर्णविद्यार्थीसाथीहरूलाई तत्काल स-सम्मान रिहाई गर्न चेतावनी दिदै अन्यथा कडा संघर्षद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । अध्यक्ष ढकालले कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनमा प्रहरीले गरेको क्रुर हस्तक्षेपप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कास्की जिल्लाको दिपाङ ताल नजिक सम्मेलनमा सहभागी संगठनका केन्द्रीय सदस्य प्रकाश वास्तोला, नव निर्वाचित जिल्ला अध्यक्ष पवन पुन र सम्मेलनमा सहभागी पृथ्वीराज भण्डारी, सुदिप भट्टराई, सुलभ तिमल्सिना, बुद्ध क्षेत्री, कमल गुरुङ, विष्णु विक र विशाल राइ गरी ९ जना विद्यार्थीलाई प्रहरीले गिरफतार गरेकोले तत्काल उनीहरुलाई रिहा गर्न माग समेत गरेका छन।
यस बिषयमा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जारी गरेको विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “हिजो मिति २०७७ पुष ११ गते हाम्रो महान्‌ तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनमा वर्तमान दलाल-फाँसीवादी आली-रामबहादुर सरकारको निर्देशनमा प्रहरीले गरेको क्रुर हस्तक्षेपप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । कास्की जिल्लाको दिपाङ ताल नजिक सम्मेलनमा सहभागी संगठनका केन्द्रीय सदस्य क. प्रकाश वास्तोला, नव निर्वाचित जिल्ला अध्यक्ष क. पवन
पुन र सम्मेलनमा सहभागी पृथ्वीराज भण्डारी, सुदिप भट्टराई, सुलभ तिमल्सिना, बुद्ध क्षेत्री, कमल गुरुङ, विष्णु विक र विशाल राइ गरी ९ जना विद्यार्थी साथीहरूलाई प्रहरीले गिरफतार गरेको छ। उक्त गिरफतारीको हामी घोर विरोध एवं भर्त्सना गर्दछौं । शान्तिपूर्ण रूपमा सम्मेलनमा सहभागी भएका विद्यार्थी नेता/कार्यकर्ता एवं साधारण विद्यार्थीहरूलाई पक्राउ गरी ओली सरकारले आफनो फाँसीवादी, राष्ट्रघाती एवं निरंकृश चेहरा पुनः प्रदर्शन गरेको छ । निहत्था विद्यार्थीहरूलाई पक्राउको निर्देशन दिएको भ्रष्ट ओली सरकार विगतका राणा, पञ्च र राजाहरूलाई समेत उछिनेर घिन लाग्दो फाँसीवादी हर्कत गर्न उद्दत रहेको कुरा पुष्टि भएको छ। आफनो चिहान आफै खनिरहेको ओली सरकार राष्ट्र र जनताको लागि अभिसाप बनेको छ । जनताको करमाथि लुट मच्चाई रहेका सत्तासिन लुटेराहरूलाई बिचार र आस्थाको राजनीति गर्ने हाम्रो संगठनका नेता/कार्यकर्तामाथिको दमन तत्काल बन्द गर्न हामी चेतावनी दिन चाहन्छौं । लगभग मृत्युको शिकार हुँदै गरेको तानाशाही ओली सरकारको मतियार नबन्न र के सही के गलत भन्ने कुराको विवेकपूर्ण निष्कर्ष सहित राष्ट्र र जनताको हितलाई ध्यान दिएर आफनो कर्तव्य निर्वाह गर्न हामी नेपालको प्रहरी प्रशासन लगायत सुरक्षा निकायहरूमा अनुरोध गर्दछौं ।
शान्तिपूर्ण सम्मेलनमा सहभागी विद्यार्थीहरूलाई पक्राउ गर्ने, दर्जनौंलाई रातभरी जंगलमा लखेट्ने कार्यले हामीलाई अत्यन्तै दुखी, मर्माहत एवं आक्रोशित बनाएको छ । उक्त घटनाको सत्य, तथ्य छानविन गर्न र दोषीलाई कडा कारवाहीको सिफारिस गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई हामी विनम्र अनुरोध गर्दछौं । उक्त कायरतापूर्ण हर्कतको विरोध एवं भण्डाफोर गर्न नेपालका सम्पूर्ण यूवा विद्यार्थी, अधिकारकर्मी,
पत्रकार, संघ संगठन, अभिभावक लगायत सम्पूर्णमा हामी विशेष अपिल गर्दछौँ । गिरफतार गरिएका सम्पूर्णविद्यार्थीसाथीहरूलाई तत्काल स-सम्मान रिहाई गर्न विवेकशुन्य भएका मूर्ख शासकहरूलाई हामी चेतावनी दिन चाहान्छौं । अन्यथा कडा संघर्षद्वारा यो कायरतापूर्ण हर्कतको प्रतिवाद गरिने कुरा जानकारी गराईन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]