शिक्षक सङ्गठन अर्घाखाँचीद्वारा २० बुँदे मागसहित ध्यानाकर्षण पत्र पेश

काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्गठन अर्घाखाँचीले विभिन्न २० बुँदे मागसहित जिल्ला शिक्षा समवन्य एकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनका जिल्ला अध्यक्ष लक्ष्मण वली र सचिव खुम बस्नेतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा शिक्षा र शिक्षकका समस्याबारे राज्य गम्भीर हुनुपर्ने उल्लेख छ । त्यस्तै पटकपटक सहमति गरेर पनि सरकारले शिक्षा क्षेत्रमा लागू नगरेको, शिक्षालाई सेवामूलक नभई नाफामूलक बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
अध्यक्ष वलीले आफूहरूले ध्यानाकर्षण पत्रमा आफ्ना मात्र माग नभई सम्पूर्ण परिवर्तनकारी शिक्षकका मागलाई समेटेकाले राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए । उनले आफ्ना मागलाई सरकारले बेवास्ता गरेमा चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।