उपत्यकालगायतका अस्पतालमा शैया र अक्सिजनको अभाव

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको हो । अस्पतालहरुमा पर्याप्त अक्सिजनको समेत अभाव हुन थालेको छ । यही वैशाख ३ गते ९ सय संक्रमित भेटिएकोमा हिजोसम्म करिब तीनगुणा २६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डबल भेरियन्ट रहेकोले संक्रमण सार्न सक्ने अत्यधिक क्षमता छ । अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सार्न सक्छ । भाइरसले संक्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको रहेको चिकित्सकहरु बताउँछन् । अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु