६८० पत्रकारलाई कोरोना संक्रमण !

२०७८ बैशाख २५ गते, शनिबार

काठमाडौं । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्। प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्। संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ। ५ जना आइसीयूमा उपचाररत छन् ।
यसैबीच , नेपाल पत्रकार महासंघले कोभिड-१९ को जोखिममा रहेका पत्रकारहरूका लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। महासंघको केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको बताइएको छ । फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । कोभिड संक्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने बताइएको छ । सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको बताइएको छ।​

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु