अखिल क्रान्तिकारी झापाद्वारा मास्क र सेनिटाइजर वितरण

काठमाडौं । अखिल (क्रान्तिकारी) झापाले सुरुङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चाराली, धाईजन, इँटाभट्टा, धुलाबारी र काँकडभिट्टाका ट्राफिक प्रहरी, प्रहरी तथा कार्यालयमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लाका विभिन्न क्षेत्रका ट्राफिक प्रहरी र प्रहरीले मास्क र सेनिटाइजर किनेर प्रयोग गरेको सुनिएपछि अखिल क्रान्तिकारी झापाको पहलमा सोमबार स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको हो । क्रान्तिकारीका अनुसार मास्क, सेनिटाइजरलगायत सामग्री राधिका ट्रेडर्सका राम सुनुवार, झरना सर्जिकलका ओम खड्कालगायतले सहयोगस्वरूप उपलब्ध गराएका थिए ।
यसैगरी , अखिल (क्रान्तिकारी) रूपन्देहीले कोरोना भाइरसविरुद्ध सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । नेकपाले सुरु गरेको कोरोनाविरुद्धको जनचेतनामूलक अभियानमा विद्यार्थी सङ्गठनले सहयोग गरेको हो ।
जिल्लाका विभिन्न सार्वजनिक स्थलमा सोमबार ‘नोबल कोरोना भाइरससम्बन्धी जनहितमा जारी सन्देश’ को ब्यानर टाँगी सर्वसाधारण जनतालाई मास्क र सेनिटाइजर वितरण गरेर पार्टीको अभियानमा सहयोग पु¥याएको सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वलीले बताए ।

अभियानमा सङ्गठका केन्द्रीय सचिवालय सदस्य तथा लम्बिनी ब्युरो संयोजक वीरेन्द्र विक, सङ्गठनका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगर, सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वली, उपाध्यक्ष पारस राहादी मगर, सहसचिव पवन ज्ञवालीलगायत नेता–कार्यकर्ताहरू सहभागी छन् । नेकपा रूपन्देहीले आइतबार जिल्लाको रानीगन्जबाट अभियान सुरु गरेको थियो । उक्त अभियान जिल्लाव्यापी रुपमा गरिब, किसान, मजदुर र सुकुमबासी बस्तीलाई विशेष प्राथमिकतामा राखेर प्रभावकारी ढङ्गले सञ्चालन गरिने नेकपा रूपन्देहीले जनाएको छ ।