कोरोनाविरुद्ध जनचेतनामूलक ब्यानर प्रदर्शन

२०७८ बैशाख ३१ गते, शुक्रबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका बुद्धभूमि नगर, शिवराज नगर, वाणगङ्गा नगरअन्तर्गत ४ नम्बर, बाङ्गाई, कोपोवालगायत विभिन्न सार्वजनिक स्थलहरूमा कोभिड १९ विरुद्ध जनचेतनामूलक ब्यानर टाँगेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिले बिहीबार कोभिड १९ बाट आफू पनि बच्न र अरूलाई पनि बचाउन अपिल गर्दै विभिन्न जिल्लामा ब्यानर टाँगिएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
अभियानमा जिल्ला सचिव विनोद गिरी, सपना, विष्णु, सङ्गीता, प्रकाश, करिश्मालगायत जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ ।
यसैगरी, अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज बजारका चोकचोकमा कोरोना भाइरसका बारेमा जनचेतनामूलक ब्यानर टाँसेर प्रदर्शन गरेको छ । अर्घाखाँचीका अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा पदम नेपाली, गिरिजा खड्का, सुनिल नेपाली, रचना विक, गीता नेपालीसहितको टोलीले मानिसहरूको चहलपहल बढी हुने शान्ति बगैँचा, जिल्ला अस्पताल, टुँडिखेल, पाणिनी चोक, ढाकाबाङ, भक्तिटोलालागायत ठाउँमा ब्यानर प्रदर्शन गरेको हो । ब्यानरमा नयाँ भेरियन्टसहित आएको कोरोना भाइरसका लक्षण, कोरोनाबाट बच्ने तरिका र होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूको मनोबल बढाउने सामग्री समेटिएको छ ।


अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला इन्चार्ज नवीन खड्काले विगतमा पनि विभिन्न ठाउँमा खाद्यान्न, मास्क, साबुन, सेनिटाइजर वितरण गरेको, बाढीपहिरोबाट पीडितलाई खाद्यान्न वितरण गरेको स्मरण गराउँदै अहिलेको महामारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरेर जनताको सेवामा लागिरहेको बताए । उनले आफूहरू अन्य सङ्गठनजस्तो तमासा हेरेर नबस्ने पनि प्रस्ट पारे । उनले विद्यार्थी तथा सचेत नागरिकलाई सुरक्षित भएर कोरोना महामारीका विरुद्ध आआफ्नो ठाउँमा जनसेवामा अपिल पनि गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु