भरतपुर अस्पतालका फर्मासिस्टहरू आन्दोलित

२०७८ जेष्ठ १० गते, सोमबार

काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालअन्तर्गतका फर्मासिस्टहरूले ‘राइट म्यान इन राइट प्लेस’ (योग्य व्यक्तिलाई उपयुक्त स्थान) नारासहित आन्दोलन गर्ने भएका छन् । उनीहरुले कोरोना महामारीको निकै जटिल अवस्थामा पनि गैरफार्मेसी कर्मचारीले अस्पतालको औषधी शाखा कब्जा गरी बिरामीलाई सामान्य औषधी सिटामोलसम्मको पनि कृत्रिम अभाव गराई उल्टै औषधी शाखाका सङ्घर्षरत अगुवाको सरुवा गरेको भन्दै आन्दोलित भएका हुन् । ‘राइट म्यान इन राइट प्लेस’ नाराका साथ विगत लामो समयदेखि आन्दोलनरत फर्मासिस्टहरूले आन्दोलन थप सशक्त बनाउन सङ्घर्ष समिति बनाएका छन् । सोमबार सर्वपक्षीय, सर्वदलीय अन्तरक्रिया र अस्पताल प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय, महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी आन्दोलनरत फर्मासिस्टहरूले दिएका छन् ।
आन्दोलनका कार्यक्रमहरू घनीभूत बनाएर अघि बढाइने र ठोस निष्कर्षमा पुर्याउने उद्देश्यले स्वास्थ्यका विभिन्न क्षेत्रमा क्रियाशील तथा सामाजिक व्यक्तिहरूको सहभागितामा ‘भरतपुर अस्पताल सुधार सङ्घर्ष समिति’ नामको सर्वपक्षीय समिति गठन गरिएको जानकारी आन्दोलनरत फर्मासिस्टहरूले दिएका छन् ।
उक्त समितिको संयोजकमा अजामिन ढकाल (नेपाल फार्मेसी सङ्घ (फर्मासिस्ट) र प्रवक्तामा ओमकार सापकोटा (फर्मासिस्ट) रहेका छन् । सदस्यहरूमा ड़ा. प्रकाश चन्द (एमबिबिएस) गणेश सापकोटा (फर्मासिस्ट), बिनोद पन्त (फर्मासिस्ट), होमनाथ पौडेल (जनस्वास्थ्यकर्मी), प्रभा ढकाल (नर्सिङ), प्रदीप पाठक (फर्मासिस्ट), बिजय पौडेल (फर्मासिस्ट), अजय घिमिरे (फर्मासिस्ट), हरिप्रसाद सापकोटा (फर्मासिस्ट), नमराज अधिकारी (फर्मासिस्ट), प्रभा अधिकारी (फर्मासिस्ट) र सुशील सिग्देल (फर्मासिस्ट) रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु