अखिल (क्रान्तिकारी) चितवन र कपिलवस्तुद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले देशव्यापीरुपमा रक्तदान कार्यक्रम गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) केब्द्रिय समितिले काठमाडौँस्थित रेडक्रसको केन्द्रीय कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) चितवनले बुधबार भरतपुरको सप्तगण्डकी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय लकडाउन भएकाले रक्तबैङ्कमा रगतको अभाव भई बिरामीहरूलाई समस्या परेपछि रक्तदान आयोजना गरिएको क्रान्तिकारीले जनाएको छ । सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य प्रज्वल शाहीलगायत सहिदको स्मृति र सम्मानमा रक्तदान आयोजना गरिएको सङ्गठनले जनाएको छ । शाहीको आजकै दिन २०७६ साल जेठ १२ गते सहादत भएको थियो । बुधबार आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत सङ्कलन गरिएको छ । रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, अतिथिहरू सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, नेकपा चितवन जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, अन्तर्राष्ट्रिय विभाग सदस्य नारायण न्यौपाने, सङ्गठनका केन्द्रीय सदस्यहरू अटल शर्मा, प्रभात भट्टराई, सप्तगण्डकी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण न्यौपानेलगायतको सहभागिता थियो ।

कोरोना सङ्क्रमणको समयमा देशमा रगतको अभाव हुन नदिन अखिल (क्रान्तिकारी) ले केन्द्रीय समितिको निर्णयअनुसार देशभर रक्तदान गरिरहेको छ । रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष भट्टराईले आफ्नो सङ्गठनले जनताका हरेक समस्यामा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । रक्तदान कार्यक्रमका अध्यक्ष अखिल (क्रान्तिकारी) का चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सक्रियताका साथ सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले रक्तदानका लागि फलफूल सहयोग गर्ने महानगर थोक तरकारी तथा फलफूल समितिका सञ्चालक थीरप्रसाद धिताल, फलफूल व्यवसायीहरू देवराज लुइँटेल, बिन्दा अर्याल, दोलराज पन्त, पानी सहयोग गर्ने ताज पानी उद्योग, जुस सहयोग गर्ने दीपक ढकाल, अण्डा सहयोग गर्ने रूपक काफ्लेलगायत सहयोगीलाई पनि धन्यवाद दिएका थिए ।
यता , अखिल (क्रान्तिकारी) कपिलवस्तुले बुधबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तौलिहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केपी ओली सरकारले लगाएको प्रतिबन्धविरुद्धको सङ्घर्षमा सहादत प्राप्त गरेका विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा सङ्गठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीलगायत विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति रहेको सङ्गठनले जनाएको छ ।

कोरोना महामारीका कारण रगतको अभाव भई बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष क्षेत्रीले बताए । सङ्गठनले कोरोनाविरुद्धको विद्यार्थी अभियानअन्तर्गत विभिन्न चरण्मा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको जानकारी उनले दिए ।