अखिल क्रान्तिकारीको ‘कोभिड १९ विरुद्ध विद्यार्थी अभियान’ जारी

२०७८ जेष्ठ २० गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि ‘कोभिड १९ विरुद्ध विद्यार्थी अभियान’ लिएर देशव्यापी रुपमा खटिएको छ। यसैक्रममा अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु बालगृहमा कोरोना महामारीको जटिल समयमा अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा परिवारविहीन विभिन्न जिल्लाका अनाथ बालबालिकालाई उपभोग्य रासनअन्तर्गत चामल ३० केजी, दाल ३० केजी, तेल, तरकारी १६ केजी, मास्क ५०० थान, सेनिटाइजर ५ लिटर, नुन १० केजी, साबुन १२ वटालगायत अत्यावश्यक खाद्य र स्वास्थ्य सामग्री बालगृह व्यवस्थापकलाई हस्तान्तरण गरिएको जानकारी अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष विज्ञान क्षेत्रीले दिए । उनले यस्तो जटिल अवस्थामा बालगृहमा खाद्य सङ्कट हुँदा पनि नाम मात्रको स्थानीय सरकार बेखबर भएको पनि बताए । उनले बालबालिकाको भविष्यप्रति राज्य गैरजिम्मेवार भएकाले सबै सचेत नागरिकले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरी नागरिकको ज्यान बचाउन र कोरोनाविरुद्ध लड्न तयार हुनुपर्ने धारणा व्यक्त गरे । यस्तो अभियानमा जिल्लाका उद्योगी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, प्रशासनिक निकाय सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।


सङ्गठनले सञ्चालन गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य सामग्री र राहत सहयोग गर्ने सहयोगी, व्यवसायी, समाजसेवीहरूलाई उनले धन्यवाद पनि दिए । उनले जिल्लाको जुनसुकै ठाउँका नागरिकलाई समस्या परेमा अखिल (क्रान्तिकारी) लाई सम्पर्क गर्न अपिल पनि गरे ।
यसैगरी , अखिल (क्रान्तिकारी) रूपन्देहीले रानीगन्जमा मास्क र सेनिटाइजर वितरण गरेको छ । सङ्गठनले ‘कोभिड १९ विरुद्ध विद्यार्थी अभियान’ अन्तर्गत रानीगन्जका करिब ७० घरमा गएर मास्क र सेनिटाइजर वितरण गरेको सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओलीले बताइन् ।

उक्त अभियानमा नेपाल कम्युनिस्ट पार्टी बुटवल इलाका सदस्य सरिता बराह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगर, सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओली, सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहादी मगर, जिल्ला सहसचिव पवन ज्ञवाली, जिल्ला सदस्य पर्शुन ज्ञवालीलगायत पार्ट र विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति थियो । सङ्गठनले कोरोना भाइरसविरुद्धको विद्यार्थी अभियानलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु