युवा सङ्गठन चितवनद्वारा रक्तदान

२०७८ जेष्ठ २१ गते, शुक्रबार


काठमाडौं । युवा सङ्गठन नेपाल चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण लामो समय लकडाउन भएपछि रगतको अभाव भई बिरामीलाई समस्या परेको हुँदा रक्तदान कार्यक्रम आयोजना गरेको सो संगठनले जनाएको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य राम सेढाईंका अनुसार राप्ती नगरपालिका वडा नं. ६ स्थित भण्डारा माध्यमिक विद्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत सङ्कलन गरिएको छ ।
सो सङ्गठनका चितवन संयोजक राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, विशिष्ट अतिथि केन्द्रीय सदस्य आधार, अतिथिहरू अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई, पार्टीका चितवन जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटा, रसुवा सेक्रेटरी ध्रुव, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य राम सेढाईंलगायत नेता–कार्यकर्ता सहभागी थिए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि सन्देशले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसका विरुद्ध विभिन्न जनसेवामूलक कार्यक्रम केन्द्रीय स्तरबाटै गरिरहेको बताए । उनले नेकपाले जनचेतना जगाउने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, आइसोलेसन बेडहरू निर्माण गर्ने, अस्पतालहरूमा स्वयम्सेवक परिचालन गर्ने, रक्तदान गर्ने काम गर्दै आएको र चितवनमा पनि रगतको कमी हुन नदिन रक्तदान कार्यक्रम सञ्चालन गरेको बताए । नेकपा नेता सन्देशले यस्तो गम्भीर अवस्थामा पनि रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु