काेभिडविरुद्धकाे खाेप फरक कम्पनीको लगाउन मिल्दैन :डब्लुएचओ

काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को कार्यालयले कोभिड–१९ विरुद्ध पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरूले दोस्रो डोज भेरोसेल लगाउन मिल्ने खबर झुटो भएको जनाएको छ । डल्युएचओले प्रेस विज्ञप्ति जारी गर्दै गलत र झुटो सूचनाको पछि नलाग्न सचेत गराएको छ । संगठनले फरक–फरक खोप लगाउन हुने वा नहुने विषयमा अहिलेसम्म विस्तृत अध्ययन नभएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएउदै “पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ”, डब्लुएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।”
डब्लुएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ ।