कोरोना भाइरसको ‘डेल्टा प्लस’ बढी संक्रामक !

२०७८ असार १२ गते, शनिबार


काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसको डेल्टा भेरियन्ट म्युटेसन भएर ‘डेल्टा प्लस’ देखिएको जनाएको छ । अहिलेसम्म ९ जनामा पुष्टि भएको उक्त भेरियन्ट नेपाल–भारतलगायत विश्वका १० देशमा देखिइसकेको छ । सोही भेरियन्टको संक्रमण बढेर तेस्रो लहर आउने जोखिम रहेको विज्ञले बताएका छन् । विज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने जनाएको छ ।
यद्यपि अहिलेसम्म संक्रमणको अवस्था हेर्दा खोप लगाएका मानिसहरुमा कोरोनाको सबै फेरियन्टले धेरै असर गरेको देखिदैन । दोस्रो लहरको संक्रमणमा २५ प्रतिशत मात्रै ६५ वर्ष माथिका थिए । संक्रमणले गम्भीर हुने अधिकांशले खोप लगाएका थिएनन्, भने ६० प्रतिशत युवा र प्रौढ थिए । नेपालमा भेरियन्ट अफ कन्सर्नको रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ ।
अहिले नेपालमा पुष्टि भएको डेल्टा प्लसलाई भेरियन्ट अफ इन्ट्रेस्ट र भेरियन्ट अफ कन्सर्नका रुपमा राखिएको छैन । नेपालमा कोरोना संक्रमितमध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको छ । २५ जिल्लाबाट संकलन गरिएको ४८ वटा नमुनालाई भारतको ल्याबमा जीन सिक्वेन्सिङ गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो लहरको कोरोनाले नेपालमा गम्भीर अवस्था ल्याउनुको र मृत्युदर बढ्नुको कारण भारतबाट फैलिएको कोरोनाको डेल्टा भेरियन्ट नै भएको विज्ञ बताउछन् ।
नेपालले तेस्रो लहर सुरु हुनु अगाडि धेरै भन्दा धेरैलाई एक डोज मात्रै भएपनि खोप दिन सके संक्रमणबाट हुने मानवीय क्षति कम गर्न सकिने विज्ञहरुको सुझाब छ ।
कोरोना भाइरसले स्वरुप परिवर्तन गर्दै नयाँ–नयाँ भेरियन्ट देखिदै गएपनि अहिले नेपालमा कोरोना संक्रमण दर ओरालो लागेको छ । संक्रमण घट्नुको कारण लकडाउन हो वा मानिसमा ‘हर्ड इम्यूनिटी’को बिकास भएको हो यो पत्ता लगाउन र संक्रमणको अवस्था थाहा पाउन असार १४ गतेदेखि सिरोप्रिभलन्स सर्भे पनि सुरु गर्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । घट्दै गएको संक्रमणलाई शून्यमा पु¥याउन र सबै भेरियन्टबाट बच्न विज्ञले खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्नमा जोड दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु