कोरोनाविरुद्वको १० लाख डोज खोप नेपाल आउदै

काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्वको १० लाख डोज खोप आउने भएको छ । भारतसँग खरिद गरेको खोप आउने सम्भावना नदेखेपछि सरकारले चीनबाट खोप ल्याउन पहल गरेकोमा चीनले नेपाललाई १० लाख डोज खोप आगामी साता दिने भएको हो । सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र खोप दिने भनेपछि सोहीअनुसार नेपालले पनि सहमति जनाएको थियो । खोप लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी बिमान यही असार २४ गते चीन जाने भएको छ ।
यसैबीच , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिद सम्झौता भएको र अबदेखि निरन्तर खाेप आपूर्ति हुने जनाएकाे छ । शुक्रबार एक विज्ञप्ति जारी मन्त्रालयले खोप खरिद बारे सम्झौता भएको जानकारी दिएको हो । तर खाेप खरिदबारे सबै कुरा गाेप्य राखिएकाे छ । मूल्य पनि खुलाउन नमिल्ने मन्त्रालयकाे भनाइ छ । सम्झौताअनुसार यही असार २४ गतेबाट निरन्तर खोप आपूर्ति हुनेछ । साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । तर कुल कति डाेज खाेप ल्याउने भन्नेबारे पनि केही खुलाइएकाे छैन । पहिलाे लट खाेप ल्याउन नेपाल वायुसेवाकाे वाइडबडी २४ गते नै चीन उड्ने जनाइएकाे छ । हालसम्म कुल ४२ लाख खाेप छिमेकी मुलुकहरू तथा काेभ्याक्स अभियानमार्फत अनुदान तथा सहयाेगमा उपलब्ध भइसकेकाे पनि मन्त्रालयले जनाएकाे छ ।
