अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक विकृतिविरुद्ध देशव्यापी प्रदर्शन

२०७८ श्रावण २० गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्व विद्यालयलगायत अन्य सबै विश्व विद्यालयमा भएको शैक्षिक विकृतिका विरुद्ध देशव्यापीरुपमा प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले मंगलबार काठमाडौँमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य मदन केसीले विश्व विद्यालयहरुलाई राजनीतिक भागबन्डामा मात्र सीमित नराखि विद्यार्थीको समस्या सम्बोधन गर्न अपिल गरे । त्रिभुवन विश्वविद्यालयलाई प्राइभेट कोर्सको नाममा विद्यार्थीमाथि शोषण र विभेदकारी शिक्षा प्रदान गरेर विद्यार्थीबाट चर्को शुल्क नलिन चेतावनी दिए । उनले विश्व विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना नबनाउन र सम्पूर्ण विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् । साथै एमसीसी अगाडि बढाएको खण्डमा अखिल (क्रान्तिकारी) जुनसुकै मुल्य चुकाउन र बलिदान गर्न तयार हुने पनि जानकारी गराए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) कि नेतृ तारा सन्ज्यालले गरेकी थिइन् ।
यता , अखिल (क्रान्तिकारी) दाङले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मौलाएको भन्दै लमहीमा प्रदर्शन गरेको छ । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले नेपालका विश्वविद्यालयहरु दलालहरुको हातमा पुगेको बताए । उनले विश्वविद्यालयले बौद्धिक व्यक्तित्व उत्पादन गर्ने भन्दा बेरोजगार उत्पादन गर्ने कारखाना रुपमा सञ्चालन भइरहेको जिकिर गरे । कोभिड महामारीमा उपयुक्त निर्णय लिन नसकेर विश्वविद्यालयहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेकोप्रति कडा आपत्ति प्रकट गर्दै नेता अनिलले विश्वविद्यालयहरु राजनीतिक दलको भागबण्डाबाट सञ्चालित भएको बताए । शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने, विज्ञ जनशक्ति उत्पादन गर्ने थलोमा राजनीतिक पार्टीका अन्धभक्तहरु नियुक्ति गरेको भन्दै नेता अनिलले तत्काल राजनीतिक नियुक्ति खारेज गर्न माग गरे । उनले निजि शैक्षिक विद्यालयमार्फत शैक्षिक पसल खोल्ने कार्य बन्द नगरे श्रमजीवी जनताका छोराछोरीले बिद्रोह गर्ने उद्घोष गरे । अनिलले नेपालका विश्वविद्यालयहरुमा वैज्ञानिक अध्ययनहरु न्यून रहेको र यसलाई राज्यले व्यापक रुपमा विस्तार गरेर सबै तहका विद्यार्थीहरुले निशुल्क रुपमा अध्ययन गर्ने वातावरण तयार गर्न आग्रह गरे ।
आंगिक क्याम्पसहरुमा प्राइभेटका नाममा विद्यार्थीहरुबाट चर्को शुल्क असुल गरेर आर्थिक शोषण गरेको, अप्लाइड कोर्स विपन्नले पढ्न नपाएको र त्यसबाट विभेद जन्मिरहेको, राज्यको गलत नीतिका कारण विश्वविद्यालयहरुमा समस्या दैनिक बढिरहेको, त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयका प्राध्यापकहरुले समयमै कोर्स नसक्नु, समयमै प्रयोगात्मक कक्षा नसक्नु तथा विश्वविद्यालयहरुले परिक्षा प्रणालीमा कुनै सुधार नल्याउनुले विद्यार्थीहरुलाई सास्ती भएको, शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरुले गुणात्मक फड्को मार्न नसक्ने नेता अनिलको भनाइ थियो ।
एक अर्को प्रसंगमा अनिलले यो पुजीवादी व्यवस्थामा जतिसुकै सरकार र मन्त्री बदलिए पनि विश्वविद्यालयको शैक्षिक गुणस्तरमा कुनै फेरबदल नआएको दाबी गरे । यो दलाल संसदीय व्यवस्थालाई खारेज गरेर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एजेन्डामा सबै उत्पीडित विद्यार्थीहरु गोलबन्द हुन समेत नेता अनिलको अपिल थियो ।
प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए ।
यस्तै त्रि.वि. तथा अन्य विश्वविद्यालय र क्याम्पसमा भए गरेका शैक्षिक विकृतिका विरुद्ध अखिल (क्रान्तिकारी) नुवाकोटले विरोध प्रर्दशन गरेको बताइएको छ ।

यसैगरी , अखिल (क्रान्तिकारी)ले महेन्द्रनगरमा गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले वैज्ञानिक समाजवादी शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन । सो प्रदर्शन अखिल क्रान्तिकारीको केन्द्रीय निर्णय अनुसार आयोजना गरिएको थियो ।
उक्त विरोध प्रदर्शन का प्रमुख अतिथि नेता शाहले सम्बोधन गर्दै अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल,कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्था हरुमा पनि सर्वसाधारण जनताको पहुँच भन्दा बाहिर हुने कुरा ज्यादै नै विडम्बना पूर्ण रहेको बताएका छन । यो किसिमको द्वेत शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको प्रतिनिधित्व गर्ने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य बनेको उहाँको भनाई थियो । त्यसका लागि हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद स्थापना गरी समान पहुंच सहितको गुणस्तरिय शिक्षा लागू गर्ने जिकिर गर्नु भएको छ । साथै उक्त समाजवाद जनमत संग्रह मार्फत आउने बताउँदै दलाल संसदीय व्यवस्था की वैज्ञानिक समाजवाद बीचको जनमत संग्रहको लागि आम सरोकार वाला निकाय तयार रहन अपिल पनि गरेका छन ।
उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय का इन्चार्ज नरेन्द्र भाट, अखिल क्रान्तिकारीका कैलाली सुबाश जोशी , कञ्चनपुर अध्यक्ष ललित एसके, बैतडी अध्यक्ष सुरेन्द्र धानुक लगायत विद्यार्थीहरूको उत्साह पूर्ण सहभागिता रहेको थियो भने सो कार्यक्रम सुप विश्वविद्यालयका संयोजकले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु