अखित (क्रान्तिकारी) द्वारा हिलसाइड कलेजलाई २४ घण्टाभित्र माग पुरा गर्न अल्टिमेटम

काठमाडौँ । ललितपुर बालकुमारीस्थित हिलसाइट कलेजले विद्यार्थीमाथि ज्यादती गरेको भन्दै विगत लामो समयदेखि आन्दोलित अखिल (क्रान्तिकारी) ले कलेजलाई २४ घण्टाभित्र आफ्ना मागहरुको सम्बोधन गर्न अल्टिमेटम दिएको छ । उक्त संगठनको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले बिहिबार पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु २४ घण्टाभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको हो । शिक्षामा गरिएको निजीकरण, व्यापारीकरण र माफियाकरणको परिणामस्वरूप पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त काठमाडौंको बालकुमारीमा सञ्चालित हिलसाइट कलेज अफ इन्जिनियरिङले विश्वविद्यालयको कलेज सन्चालनका निर्देशिका समेत लत्याएर अध्ययन शुल्क समयमा तिर्न नसकेको कारण विद्यार्थीलाई गुन्डागर्दी शैलीमा धम्की दिई परीक्षाबाट समेत बञ्चित गराउने गरेको, पूर्वाञ्चल विश्वविद्यालयले लिने प्रवेशीका परिक्षा अगावै विद्यार्थीबाट लाखौं रकम लिएर भर्ना गरेको, नियम विपरीत परीक्षा फर्म लिई ठगेको, प्रवेश पत्र दिन ढिलासुस्ती गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
विद्यार्थीको गुनासो आएपछि अखिल (क्रान्तिकारी) ले गएको चैत्रमा ४ बुँदे मागपत्र बुझाई समस्या समाधानका लागि अनुरोध गरेको थियो । प्रशासनले उक्त मागहरु बेवास्ता गरेको भन्दै साउन १९ गतेदेखि कलेजमा ताला लगाएको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समिति संयोजक दिनेश जोशीले बताए ।
पत्रकार सम्मेलन वितरित विज्ञप्तीमा भनिएको छ,‘आन्दोलनस्वरुप गरिएको तालाबन्दी कलेज प्रशासनले आफ्नो गुण्डागर्दी बोलीलाई निरन्तरता दिदै छलफलका लागि गएका हाम्रो संगठनका जिम्मेवार साथीहरुलाई असभ्य, अभद्र व्यवहार गरी आफूखुसी तालाबन्दी खोलेको विषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’
संगठनले विज्ञप्तिमार्फत भनेको छ, ‘कलेज प्रशासनको उक्त अमर्यादित व्यवहार र गुन्दागर्दीको घोर भत्सना गर्दै २४ घण्टाभित्र विद्यार्थीका माग पूरा गर्न, छलफलमा आउन चेतावनी दिन चाहन्छौं ।’
