शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आफ्ना ३४ सुत्रीय मागप्रति सरकारले सुनुवाई नगरेपछि दबाब स्वरुप सनोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ । गत बैशाख २० गतेदेखि चरणबद्ध आन्दोलन गर्दे आएको महासङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको हो । महासङ्घका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले देशै भरिका शिक्षकहरू आन्दोलित भएको र नेपाल सरकारसँग हामीले बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताए । उनले अफ्ना माग पूरा गराउनका लागि निरन्तर आन्दोलनमा रहने बताए ।
त्यस्तै नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूका माग अहिलेसम्म जेजति सम्बोधन भएका छन् ति आन्दोलनबाटै प्राप्त भएको र अबका माग पनि पूरा गरेरै छाड्ने बताए । उनले भने,– “हाम्रा माग जहिलेसम्म पूरा हुदैनन् हामी निरन्तर आन्दोलनमा रहने छौँ र माग पूरा गरेर मात्र फर्कने छौँ ।” साथै यसपछि कार्यक्रम प्रधानमन्त्रीको निवास अगाडि धर्ना गरिने जानकारीसमेत दिए ।
मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरूको समस्या समाधान, छिटो सङ्घीय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रीय माग राख्दै महासङ्घले चरणबद्ध आन्दोलन गरिरहेको छ ।