अखिल (क्रान्तिकारी) ललितपुरकाे प्रथम पूर्ण बैठक सम्पन्न

काठमाडौं । अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला सम्मेलन आयोजक समितिको प्रथम पूर्ण बैठक जिल्ला संयोजक रमेश सुनार अग्रीमको अध्यक्षतामा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव प्रकाश शाही प्रमुख अतिथि, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विशाल विशिष्ट अतिथिको रुपमा बैठकमा उपस्तिथि थियो भने अतिथिहरुको रुपमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज मदन चन्द र केन्द्रिय सदस्य नवराज भट्ट र जिल्ला नेता भरतको उपस्थितिमा विभिन्न आवश्यक निर्णयहरु गरिएको छ ।
यसैबीच , अखिल (क्रान्तिकारी) CTEVT क्षेत्रीय समन्वय समितिले CTEVT केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा लकडाउन अवधिको अध्ययन शुल्कमा ५०% छुट लगायतको ८बुँदे मागपत्र बुझाएको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा CTEVT क्षेत्रीय समन्वय समितिका संयोजक मिलन राईको नेतृत्वमा CTEVT का सदस्य सचिव जीवनारायण काफ्लेलाई बुझाइएको मागपत्रमा CTEVT को नियमावली विपरीत अनियमितता गरिरहेको निजी कलेजहरूलाई कारवाही गर्नुपर्ने, CTEVT ले निजी कलेजलाई सम्बन्धन दिन अगाडि बढाएको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, कोभिड महामारीका कारण रोकिएका सबै परीक्षा वैकल्पिक विधि अपनाई सञ्चालन गर्नुपर्ने, छोटो अवधिको तालिमहरूमा भइरहेको मनोमानी, निश्चित मापदण्ड बनाई नियमन गरिनुपर्ने, छात्रवृत्तिमा वैज्ञानिक विधिमार्फत श्रमजिवी जनताका छोराछोरीहरूको पहुँच सुनिश्चित गरिनुपर्ने,फेजआउट गरिएको TSLC तहका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूको असम्बन्धित विषयमा स्तरोन्नत गर्न लागिएको प्रक्रिया तत्काल बन्द गर्नुपर्ने, विगतमा हाम्रो सङ्गठनसँग भएका सहमति अक्षरस कार्यान्वयन गर्नुपर्ने लगायतको ८ बुँदे माग उल्लेख गरिएको छ। मागपत्रको अन्तिममा “हामी CTEVT को जिम्मेवार भूमिकाको अपेक्षा गर्दछौँ। हाम्रो माग चाँडो भन्दा चाँडो पूरा हुने कुरामा आशावादी छौँ अन्यथा हामीसँग सङ्घर्ष गर्नुको विकल्प हुनेछैन।” भनिएको छ। मागपत्र बुझ्दै सदस्य सचिव काफ्लेले मागहरू महत्त्वपूर्ण रहेको र कार्यालयको तर्फबाट शिघ्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको CTEVT का उपत्यका जिल्लाका सह–सचिव भुपाल विकले जानकारी गराए ।