अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सामुदायिक विद्यालयको शुल्क खारेज गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले विभिन्न बहानामा शुल्क लिने सामुदायिक विद्यालयहरूमा शुल्क खारेजीको माग गर्दै दुई बुँदे मागपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनको पूर्वघोषित कार्यक्रम अन्तरगत मङ्गलबार जिल्लाका मुख्य १३ वटा अनावश्यक शुल्क लिने विद्यालयहरूमा उक्त मागपत्र बुझाएको हो । जसअन्तर्गत जनता मावि (पिपरा), बाणगङ्गा मावि (गजेडा), बाणगङ्गा मावि (बोडगाउँ), भृकुटी मावि (बुड्डी), श्री मावि (इमिलिया), गौतम बुद्ध मावि (गरुसिङ्गे), सिदार्थ स्मारक (भेलाइ), राष्ट्रिय मावि (चनौटा), नेपाल आदर्श मावि (शिवपुर), राम गोरखा मावि (बहादुरगन्ज) लगायत विभिन्न सामुदायिक विद्यालयहरूमा २ बुँदे मागपत्र बुझाएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए । मागपत्रमा विभिन्न बहानामा लिने शुल्क खारेज गर्न र विद्यालयको प्रशासनले मनपरी ढङ्गले शिक्षक नियुक्त गर्ने कार्य तत्काल नियन्त्रण गर्न माग पनि राखिएको छ ।
यसैगरी , अखिल (क्रान्तिकारी) डडेल्धुराले पाँच बुँदे माग सहित विभिन्न विद्यालयमा मागपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका जिल्ला अध्यक्ष गणेश बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा पाँच बुँदे माग राखिएको छ । उक्त मागपत्रमा संविधानमा निःशुल्क शिक्षा भनेता पनि विद्यालयहरूले विभिन्न बाहानामा शुल्क लिने गरेको शुल्कको खारेजी, छात्रवृत्ति समयमै उपलब्ध र प्रार्दशिता, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, विद्यालयबाट दिइने सम्पूर्ण कागजात निःशुल्क व्यवस्था जस्ता मागसहित मागपत्र बुझाएको बताए ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यक्रम अनुसार डडेल्धुराका जिल्ला अध्यक्ष गणेश बोहराको नेतृत्वममा श्री दुर्गा मावि आलिताल ८ डोलामा विभिन्न मागसहित पत्र बुझाएको हो ।