अखिल क्रान्तिकारीद्वारा ५० प्रतिशत शुल्क छुट माग

काठमाडौं । अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिले बन्दाबन्दीको समयमा अनलाइन कक्षाको पहुँचमा नभएका सबै विद्यार्थीलाई वैकल्पिक विधिद्वारा पठनपाठनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयको शुल्कको ५० प्रतिशत शुल्क छुट गरिनुपर्ने लगायतका मागहरु अगाडी सारेको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले उपत्यका भित्रका सबै इलाका अन्तर्गतका कलेजहरुमा सो माग गर्दै पत्र बुझाएको छ । पहिलो चरणमा, जिल्लाका इलाका अन्तर्गत, एक नम्बर इलाकामा ॐ समाज शैक्षिक प्रतिस्ठान कलंकी, स्कुल अफ मेडिकल साइन्स बनस्थली र केआईटि एन्जिनियरिङ कलेज टोखामा इलाका इन्चार्ज भुपाल विकको नेतृत्वमा बुझाइएको छ ।
दुई नम्बर इलाका अन्तर्गत ग्रीन तारा नर्सिङ कलेज भैँसेपाटी, एसियन हेल्थ फाउन्डेसन सातदोबाटो र विनायक कलेज अफ हेल्थ साइन्स बत्तिसपुतलीमा इलाका इन्चार्ज लक्षमण विकको नेतृत्वमा बुझाएको छ र इलाका नम्बर तीन अन्तर्गत होप इन्टर्नेस्नल सातदोबाटो, NIMST ग्वार्को र श्रद्धा नर्सिङ कलेज ठिमी भक्तपुरमा इलाका इन्चार्ज प्रजित विकको नेतृत्वमा बुझाइएको छ ।
माग पत्रमा विद्यार्थीका सम्पूर्ण मागहरु तीन दिनभित्रमा सम्बोधन नगरिए थप संघर्षका कार्यक्रमहरुको घोषणा गर्ने र विद्यार्थीका जायज मागहरुका पक्षमा दृढ भएर लड्ने बताएका छन् ।
जिल्ला समिति अध्यक्ष डिबी चन्दले CTEVT अन्तर्गतका धेरै जस्तो कलेजका मालिकहरुले केवल मुनाफा कमाउनका लागि मात्र शिक्षा क्षेत्रमा लगानी गरेको र लकडाउनको दुखद क्षणमा पनि विद्यार्थी र अविभावकहरुलाई अमानवीय ढंगले लुट मचाइरहेको बताए । उनले भने, हामीहरुले धेरैपटक यो विषयमा सम्झाइरहेको तर उहाँहरुले नटेरे जस्तो गरिरहनु भएको छ, उहाँहरुलाई अब हामी संघर्षको मैदानबाट जवाफ दिनेछौँ ।