एक लाख फाइजर खोप आइपुग्यो

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि बालबालिकाले भने खोप लगाउन पाउने छैनन् । अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रयालको रुपमा प्रयोग गर्न लागिएको हो । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने यो खोप राख्न आवश्यक पर्ने एक सय लिटर क्षमताका ४ वटा फ्रिजर युनिसेफले नेपाललाई उपलब्ध गराइसकेको छ ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । आगामी पुससम्ममा उक्त खोप नेपाल आइपुग्ने भएकाले खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम भईरहेको पनि मन्त्रालयले जनाएको छ ।