अखिल क्रान्तिकारी लुम्बिनीले तीन महिने अभियान संचालन गर्ने

२०७८ कार्तिक १८ गते, बिहीबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) लुम्बिनीले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रहको नारा लिएर तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको हालै सम्पन्न बैठकले अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टको संयोजकत्वमा ११ सदस्यीय अभियान टोली गठन गरेको बताइएको छ । यस्तै बैठकले अवैध रुपमा सञ्चालित सबैखाले शैक्षिक संस्थाका विरुद्ध संघर्ष गर्ने, सरकारी विद्यालयमा अंग्रेजी माध्यमको बहानाबाजी गरि लिएको शुल्कका विरुद्ध संघर्ष गर्ने, कोरोना महामारी (बन्दाबन्दी) को शुल्क असुली गर्ने शैक्षिक संस्थाका विरुद्ध संघर्ष गर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पाठ्यपुस्तक निशुल्क र अनिवार्य तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक समेत निशुल्क गर्न माग गर्ने, विद्यार्थीले यातायातमा पाउनुपर्ने छुटको व्यवस्था कार्यान्वयनका लागि संघर्ष गर्ने, सरकारी सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकबाट उठाएका पैसाले निर्माण तथा खरिद गरि भौतिक संरचनाको निर्माण गर्ने कार्यका विरुद्ध संघर्ष गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
यस्तै बैठकले लुम्बिनी प्रदेशमा लामो समयसम्म विद्यार्थी संगठनमा काम गरेर हाल त्रिभुवन विश्वविद्यालयको इन्चार्जको जिम्मेवारी प्राप्त गर्ने संगठन केन्द्रीय सदस्य अनिललाई बिदाइ गरेको छ ।
अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज दिपकको अध्यक्षता तथा संचालनमा भएको प्रथम पूर्ण बैठकमा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर विषमको प्रमुख आतिथ्य रहेको थियो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष रुपा बुढा मगर, नेकपा दाङ जिल्ला सदस्य एवम लमही नगरका इन्चार्ज जनक, अखिल (क्रान्तिकारी) केन्द्रीय समितिका सदस्य एवम त्रिभुवन विश्वविद्यालयका इन्चार्ज अनिलको आतिथ्यता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]