जर्मनीद्वारा ४१ लाख ४२ हजार डोज कोरोना खोप उपलब्ध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ । जर्मनीवाट १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो । मन्त्रालयका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्राप्त भएका खोप १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने छ । स्वास्थ्य मन्त्रालयले पुस ४ गतेदेखि बालबालिकालाई खोप दिने योजना बनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले अन्य लक्षित समूहलाई पनि चाँडै नै खोप अभियान सञ्चालन गर्ने जानकारी दिइन् ।