बालबालिका खोप अभियान स्थगित !

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो छैन ।
फाइजर खोपका लागि छुट्टै सिरिन्ज चाहिने भन्दै उनले सिरिन्ज छिट्टै आउने भनिए पनि कहिले आउँछ भन्ने यकिन नभएको बताए । यस्तै फाइजर खोपमा मिसाउने घोलक पनि नआएको दाहालले बताए । अमेरिकाले नेपाललाई ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।