‘शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै समस्या बढ्यो ‘

२०७८ पुष २४ गते, शनिबार


काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको कारण बिभिन्न समस्याहरू देखा परेको ठोकुवा गरेकी छिन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘चिकित्सा शिक्षाको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहायक डिन केसीले सो ठोकुवा गरेकी हुन्। उनले भनिन् – ‘जुन समस्याहरू छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो । उसले विशेष गरेर त्यसलाई व्यवस्थित बनाउने, इन्ट्रान्स लिने, विद्यार्थीहरूलाई भर्ना गराउने, नीतिगत कुराहरू चिकित्सा आयोगले गर्ने भयो । त्यसलाई इप्लिमेन्टेशन गर्ने कुरा विश्वविद्यालयको हो । जसले आफ्नो आङ्गिक कलेजहरू, सम्बन्धन प्राप्त कलेजहरूलाई पनि रेगुलेशन गर्दै जानुपर्छ । उसले नै गर्ने हो । केही निजी कलेजहरूले त्यसलाई अटेरी गरेको पनि देखियो । ऐनलाई मिचेर जान कति सम्भव छ त ? सरकार नै मनिटरमा गएको देखियो । यो टुङ्गोमा पक्कै पुग्छ भन्ने लाग्छ ।’


सोही कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ विश्वविद्यालयका प्रशासकीय अधिकृत दीपक दाहालले चिकित्सा शिक्षा ऐन व्यवहारिक हुन नसकेकोले चिकित्सा शिक्षा ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने बताए ।


यसैगरी, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राज्यले चिकित्सा शिक्षामा स्पष्ट नीति र योजना बनाई स्रोत र लगानी बढाउनुपर्ने बताए । उनले निजी मेडिकल कलेजहरू राष्ट्रियकरण गरी राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखे । गरिब तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले चिकित्सा शिक्षामा देखिएको विकृति, भ्रष्टाचार, निजीकरण र राजनीतिकरणको बारेमा प्रष्टाउँदै वर्तमान अवस्थामा यसको सम्पूर्ण क्षेत्राधिकार ठूलाठूला माफिया र दलाल संसदिय पुजीवादीहरुको हातमा पुगेको बताएका थिए । उनीहरुले बेलैमा यसलाई नियन्त्रण नगरिए अझ समस्या जटिल बन्ने भन्दै चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरन पुन मिलन, वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतले बाेलेका थिए । अखिल (क्रान्तिकारी) विद्यार्थीका नेता एवम् कार्यकर्ता, बुद्धिजीवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]