केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् । केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको विद्यार्थी संगठनहरुले बताएका छन् । ‘नियम विपरित अतिरिक्त शुल्क लिएका, विद्यार्थीलाई अवैध करारनामा गर्न बाध्य पारेका र चर्को मूल्यमा नियम विपरीत छात्राबासलाई अनिवार्य बनाई विद्यार्थीलाई लुटिरहेका यी मेडिकल कलेजहरुलाई तत्काल ठगी मुद्दामा कारबाही अगाडि बढाउन विशेष माग गर्दछौं’ विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् । विद्यार्थी संगठनका नाममा आन्दोलन गरिरहेका आठ विद्यार्थी संगठनले जनकपुरको युथ क्याम्पसको खारेज गरिएको सम्बन्धन भने फिर्ता गर्न माग गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनमा आबद्ध विद्यार्थीहरूले मेडिकल कलेजका विद्यार्थीलाई अन्याय भएको भन्दै आन्दोलन गरिरहेका छन् ।चिकित्सा शिक्षा अध्ययनका लागि ०७८ को नयाँ भर्ना गर्ने क्रममा नोबेल र केएमसीले प्रतिव्यक्ति झन्डै पाँच लाख बढी रुपैयाँ उठाएको, ऐच्छिक छात्रवासलाई अनिवार्य गरेको र कलेजको नेतृत्वसँग कुरा गर्दा विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।