भ्रष्ट सव-इन्जिनियरलाई कार्यालयभित्रै कालो मोसो र जुत्ताको माला !

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएर कारबाही गरेका छन् । सव इन्जिनियर यादव र नविन कुमार सिंले विद्यालय भवन निर्माण गर्दा चरम आर्थिक अनियमितता गरेकोले सो कारबाही गरेको बताएको छ। सब इन्जिनियर पवनकुमार यादवलाई कालोमोसो र जुत्ताको माला लगाएपछि शिक्षा समन्वय इकाइ कार्यालयको मुख्य द्वारमा सो संगठनले विज्ञप्ती समेत टाँस गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सोलुखुम्बुका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु पवनकुमार यादव र नविन कुमार सिंले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको उल्लेख गरिएको छ । सव इन्जिनियरहरु पवनकुमार यादव र नविन कुमार सिंलाई सो रकम विद्यालयलाई फिर्ता गर्न पटक/पटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने समेत विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।
सव इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५/३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको बताइएको छ ।
