नेपाल इञ्जिनियरिङ कलेजको २३ करोड हिनामिना !

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान अनुसार नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जना सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ । विभागका अनुसार न्यौपानेले १२ करोड, लवराज भट्टराई, उपेन्द्र गौतम, सूर्यबहादुर केसी र हरि पाण्डेले २/२ करोड, रामरत्न उपाध्यायले १ करोड २५ लाख र दीपक भट्टराईले करिब ३५ लाख रूपैयाँ बराबर सम्पत्ति शुद्धीकरण गरेको विभागले फेला पारेको छ । सञ्चालकहरुले कलेजकै सो रकम हिनामिना गरेर व्यक्तिगत खातामा राखेको विभागको अनुसन्धानबाट पुष्टि भएको छ ।
विभागले गत असार अन्तिम साता विशेष सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले पटक–पटक थप अनुसन्धान गर्न भन्दै प्रतिवेदन विभागमै फिर्ता पठाएको थियो । अन्ततः वकिल कार्यालयले सो प्रतिवेदन सदर गरिसकेको छ ।
सार्वजनिक कम्पनीका रुपमा २०५२ देखि सञ्चालित कलेजलाई न्यौपाने अध्यक्ष भएपछि निजी कम्पनीका रूपमा परिवर्तन गर्न चलखेल गरेका थिए । न्यौपानेसहित सातै जना सञ्चालकमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरेको थियो । सीआईबीले इञ्जिनियरिङ कलेजका सात जना सञ्चालकले ५२ करोड ठगेको निष्कर्ष निकालेको थियो ।