अखिल क्रान्तिकारी मकवानपुर छात्रा विभागद्वारा जिप्रकामा ज्ञापनपत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरको छात्रा विभागले पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका सह सचिव एवम छात्रा विभाग प्रमुख शर्मिला थोकरद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ- “पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिका, सल्यान जिल्ला लगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । अपराधीलाई कानुनी दायरामा ल्याउनुकाे सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृत्ति बढिरहेकाे छ । पिडितलाई न्यायकाे प्रत्याभूति हुन सकिरहेको छैन ।
हाम्रो सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ मुलुकी अपराध संहिता -२०७४ काे भाग-२, परिच्छेद -१८ काे धारा -२१९,२२०,२२१,२२२,२२३,२२४ र २२५ मा व्यवस्था भएबमाेजिम दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार मागसहित यो ज्ञापनपत्र पेश गर्दछ ।”