काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह : १,४४९ विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् । आर्टसका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना दीक्षित भएका छन् । दीक्षितमध्ये ७ सय ४७ जना महिला छन् । कूल दीक्षित विद्यार्थीको यो ५१ दशमलव ५५ प्रतिशत हो । ७ सय २ जना पुरुष छन् ।
अमेरिका, बंगलादेश, बेनिन, निदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, रुस लगायत देशका १ सय २३ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् । पहिलो पटक मास्टर इन पब्लिक पोलेसी र म्यानेजमेन्टमा ११ जना, मास्टर इन इनर्जी इफिसिएन्ट विल्डिङ डिजाइनमा ३ जना र मास्टर इन रिर्सच इन सिभिल इन्जिनियरिङमा २ जना गरी १६ जनालाई उपाधि प्रदान गरिएको छ ।