विश्व वातावरण दिवस मनाइँदै

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौं । आज जुन ५ अर्थात विश्व वातावरण दिवस । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
कोरोना महामारीका कारण गत वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम नगरिता पनि यो वर्ष भने विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]