अखिल क्रान्तिकारीद्वारा एसपीपीबिरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका नेता- कार्यकर्ताले एसपीपी सहमति नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन ।

हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ । जसको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गरेका थिए । उनले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौताको प्रस्ताव गरेको बताउदै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउदै आफ्ना गतिविधिहरु बढाई रहेको र यसले एकातिर कुटनीतिक मामिलाको खिल्ली उडाएको छ भने, अर्कोतिर नेपालको राष्ट्रियस्वाधिनता र सार्वभौम अधिकारमाथि खुलम्खुला धाबा बोलेको ठोकुवा गरेका थिए । उनले देशलाई युद्बको मारमा फसाउने षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने शेरबहादुर देउवा गठबन्धन सरकारको यस प्रकारको हर्कतले मुलु्कको सार्वभौम अधिकारमाथि ठूलो चुनौति खडा भएको बताउदै राष्ट्रियता जस्तो अति सम्वेदनशील विषयमा समेत हल्काढंङ्गको लिने देउवा सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको(एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारीसमेत गरेका थिए ।