नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे । उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ । दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्याएको बताउँछन् । अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘केही महिना अगाडि युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको पाइएको छ,’ डा. पुनले भने,’ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण फैलाउनुमा ओमिक्रोनको उपप्रजातिको मद्धत पुर्याएको पुष्टि हुन्छ ।’ तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसकिने डा. पुन बताउँछन् । विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।
नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत रहेको डा. पुन बताउँछन् । ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।
पछिल्लो समय नेपालमा २४ घण्टामा सबैभन्दा कम चार जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यो सख्या बढेर १५ असारमा २४ घण्टाभित्र ६२ जनामा पुष्टि भएको छ । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १८ गते दुई हजार ४६७ जनामा परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको थियो । असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल अहिले ३१४ सक्रिय संक्रमित छन् । जसमध्ये ७ जना संस्थागत आइसोलेसन र चार जना सघन उपचार कक्ष (आईसीयू) मा छन् ।