काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको संख्या ३४ पुगेको छ । नयाँ संक्रमित तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा संक्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् । हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ । असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । अहिलेसम्मको अध्ययनले धारा, जार र जमिनमुनिको पानीमा हैजाका जीवाणु भेटिएका छन् । हैजाबाट जोगिन पानी उमालेर पिउन र बासी खानेकुरा, फोहोर पानी नखान चिकित्सकको सल्लाह छ ।