सिटिइभिटी बागमती प्रदेश कार्यलय हेटौंडामा तालाबन्दी !
काठमाडौं । अखिल (क्रान्तिकारी) मकवानपुरले सिटिइभिटी बागमती प्रदेश कार्यलय हेटौंडामा तालाबन्दी गरेको छ । पछिल्लो समयमा सिटिइभिटीले गरेको शुल्क वृद्धि तत्काल खारेज गरि पुरानै शुल्कमा पठनपाठन गर्ने वातावरणको सिर्जना गर्न माग गर्दै सो संगठनले ताला लगाइएको हो । अखिल (क्रान्तिकारी) को केन्द्रिय संघर्षको कार्यक्रम अनुसार आज बुधबार हेटौंड-११, नवलपुरमा रहेको सिटिइभिटी बागमती प्रदेश कार्यलयमा तालाबन्दी गरेको हो । बिगत असार ३१ गतेबाट संघर्षका विभिन्न चरणको कार्यक्रम गर्दै आउँदा पनि सिटिइभिटी केन्द्रिय कार्यलयले टेरपुच्छर नलगाए पछि अखिल (क्रान्तिकारी) मकवानपुर ताला लगाउन बाध्य भएको हो । यतिखेर एकाद पुँजिपती वर्ग बाहेक देश र जनता आर्थिक संकटको चपेटामा परिरहेको छ । सर्वसाधारण जनतालाई आफ्नो दैनिकी गुजारा चलाउन पनि धाउधाउ भैरहेको छ । राज्यको तर्फबाट सर्वसुलभ र निशुल्क प्रदान गरिनुपर्ने शिक्षा जस्तो संवेदनशील विषयलाई केही पुँजिपती वर्गले व्यापारिक साधन बनाएर शैक्षिक व्यापार गरिरहेका छन् ।
भर्खरै श्रावण ३० गते रातिबाट लागू हुने गरि सिटिइभिटीले अविभावक र विद्यार्थीको ढाड सेक्ने गरि निजि संस्था सञ्चालकसंग साँठगांठ गरि मोटो रकम असुली गर्ने उद्देश्यले शुल्क वृद्धि गरेको छ । जस अन्तर्गत PCL Nursing मा ३२%, सामान्य चिकित्सा (HA) मा २८% र डिप्लोमा इन फार्मेसीमा २६% का दरले गैर न्यायीक र अनपेक्षित रुपमा शुल्क वृद्धि गरेको हो । यो शुल्क वृद्धि आम सर्वसाधारण जनताको पहुँचभन्दा बाहिराको कुरा हो । केही शैक्षिक दलाल र शैक्षिक माफियाहरुले जबर्जस्त रुपमा विद्यार्थीमाथी थुपार्न खोजेको यो आर्थिक भार आम विद्यार्थीको हित बिपरित छ ।
यसर्थ उक्त शुल्क वृद्धि तत्काल खारेज गरिनुपर्छ भन्दै अखिल (क्रान्तिकारी) ले देशव्यापी रुपमा संघर्षको कार्यक्रम अगाडि बढाइरहेको छ । यसै कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी) मकवानपुरले पनि आज आम विद्यार्थीको प्रतिनिधित्व गरि संघर्षमा होमिएको संगठनको माग पूरा नगरेसम्मको लागि सिटिइभिटी बागमती प्रदेश कार्यलय हेटौंडामा अनिश्चित कालिन तालाबन्दी गरेको हो ।