वास्तु शास्त्रलाई आधुनिक इन्जिनियरिङ शिक्षामा समावेश गरिने

२०८० कार्तिक ११ गते, शनिबार


काठमाडौँ । नेपाल संस्कृत विश्विद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक इन्जिनीयरिङमा स्नातक तहको अध्यापन गराइने भएको छ । आधुनिक इन्जिनीयरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ । विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र खड्काले जानकारी दिए । यसका लागि विश्वविद्यालयले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई रु चार करोड बजेट विनियोजन गरिएको उनले सुनाए ।
विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँमा रहेको विश्विद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा अध्यापन गराउने गरी तयारी भएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा वास्तु शास्त्रसम्मत भवनको निर्माण गरी वास्तुसम्बन्धी अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना रहेको छ । वास्तुको अध्यापनका लागि भौतिक संरचना निर्माणलाई पनि विश्वविद्यालयले प्राथमिकता दिने भएको छ ।
स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो ।
प्छिल्लो समय वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवर्द्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए । पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन् ।
विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]