त्रिभुवन विश्वविद्यालयद्वारा कीर्तिमान कायम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयद्वारा आज आयोजित ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । योसंगै त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री प्रचण्डलेले नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको र आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए । उनले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताए ।
प्धानमन्त्री प्रचण्डले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको भन्दै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।