आज नवौं राष्ट्रिय योग दिवस

२०८० माघ १ गते, सोमबार


काठमाडौँ । आज नवौं राष्ट्रिय योग दिवस । नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाइँदै छ। योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने विज्ञहरु बताउँछन्। नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज धेरै स्थानमा योग शिविर तथा योग कक्षा सञ्चालन हुन थालेका छन्।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।
आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]